Monday, January 28, 2013

व्यावसायिक लिग जित्न टुरिस्टको प्रयोग

यतिबेला दशरथ रंगशालामा ए डिभिजन लिग चलिरहेको छ। सो लिगमा अफ्रिकन मुलुकका टुरिस्टहरूको बाक्लो सहभागिता छ। त्यही टुरिस्ट भिसामा नेपाल प्रवेश गरेर वर्क परिमिट लिएर ए डिभिजन लिग खेलिरहेका विदेशी अनुहारलाई देखाएर नेपाली फुटबल व्यावसायिक भएको खेलकुद अधिकारीहरू बताइरहेका छन्।  
नेपाली फुटबलरको खेल क्षमता झन्झन् खस्किँदै गएको छ तर खेल अधिकारीहरू भने खेलस्तरीय बन्दै गएको डिंग हाक्न पछि पर्दैनन्। ए डिभिजन लिगमा १६ टिमको सहभागिता रहेको छ। अधिकांश क्लबका खेलाडीले तलब पाइरहेका छैनन्। एपीएफ, आर्मी र प्रहरी गरी तीन विभागीय टिमका खेलाडीबाहेक यतिबेला उपाधिको दाबेदार मानिएका ठूलो क्लबका खेलाडीहरूसमेत तीन/चार महिनादेखि तलब विना नै मैदानमा भिडिरहेका छन्।  
ठूलो पुरस्कार राशिको प्रतियोगिता भएका कारण उपाधिको दाबेदार मानिएको टिमहरूले उपाधि जितेर तलब असुल्ने आशामा मैदानमा भिडिरहेका छन्। अधिकांश विदेशी खेलाडीको भरमा ए डिभिजन लिग जिते पनि नेपाली खेलाडीको अवस्था भने जस्ताको तस्तै छ। नेपालले दक्षिण एसियालीमा भुटानबाहेक अरु राष्ट्रसँग सहज जितको स्वाद चाख्न सक्दैन। यस्तो अवस्थामा नेपालका अधिकांश प्रायोजकहरूसमेत एउटै खेलमा पोखिनुले नेपालको सम्भावना बोकेका खेलहरू प्रायोजकविहीन अवस्था डामाडोल भएका छन्। करोडौ खर्चे गरिएको ए डिभिजन लिगको के अर्थ जब खेलाडी भोकभोकै खेल्नुपर्छ। अन्तर्राष्ट्रिय स्पर्धामा नेपालले भिड्ने हैसियत राख्दैन भने।  
व्यवसायी खेलमा अनुशासनदेखि सम्पूर्ण व्यवस्थापनमा समेत ध्यान दिइन्छ। तर गत शनिबार आर्मी र आरसीटीबीचको खेलमा ठूलै तनाव भयो। रेफ्री र क्लक व्यवस्थापनबीचमात्र हात हालाहालको अवस्था भएन खेलाडीखेलाडीबीच समेत ग्याङफाइट भयो। व्यवसायी लिग सञ्चालन गर्नु अगाडि एन्फाले क्लब, खेलाडी, रेफ्रीलाई सम्पूर्ण आचारसंंिहतासमेत सिकाउन भ्याएन। अनि नाटककै भरमा कतिन्जेल नेपालीलाई भ्रममा राख्ने हो। नेपालीहरू कतिञ्जेल भ्रममा बस्ने हो? त्यो समयले नै देखाउला।  
राजनीति र नेपाली फुटबल यतिबेला समानान्तर रूपमा अघि बढेको भान हुन्छ। नेपालको राजनीतिमा विदेशी प्रभुको शरण पर्नुपर्ने अवस्था छ। चालू लिगमा पनि विदेशी खेलाडी बिना उपाधि सम्भव छैन भन्ने कुरा पछिल्लो अवस्थाले देखाएको छ। जुनजुन क्लबमा अफ्रिकन खेलाडीको प्रभाव छ उनीहरू लिगमा जितमाथि जित दर्ता गरिरहेका छन् । फुटबलमा लामो समयदेखि आफ्नो अधिपत्य जमाइरहेको पुलिस भने यतिबेला निकै कमजोर देखिएको छ कारण उसँग विदेशी खेलाडी छैन। वा राख्न पाइदैन।